वर्तमान सरकारको गम्भीर समीक्षा गर्नुपर्ने बेला आयो- महामन्त्री गगन थापा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारको गम्भीर समीक्षा गर्नुपर्ने बेलामा आइपुगेको बताएका छन् ।
बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार गठनको उद्देश्यअनुरुप काम हुन नसकेको टिप्पणी गरे। महामन्त्री थापाले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपथ्र्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको छ। तर त्यो उद्देश्य पूरा गरिनुपर्छ। यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं। तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन। त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ। जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन।’ उनले सरकारले गर्नुपर्ने निर्णय नगरी नगर्नुपर्ने निर्णय गरिरहेको भन्दै आलोचना गरे।
यद्यपि, कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको र २०८४ सम्म सरकार अदलबदलमा नलाग्ने उनले स्पष्ट पारे। महामन्त्री थापाले २०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताए। चुनावअघि होस् वा पछि दुवै गठबन्धन नेपाललाई नफापेको उनको भनाइ थियो। अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बने पनि प्रत्येक दिनजसो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिति रहेको उनले बताए। यस्तो परिस्थितिको अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।