नेफ्स्कूनले वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा साकोस गोष्ठी गर्दै
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी गर्न लागेको हो । नेफ्स्कूनले कोशी प्रदेश अन्तर्गत इटहरीमा वैशाख २५ गते, मधेश प्रदेश अन्तर्गत बर्दिबासमा २८ गते र लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्जमा ३१ गते गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठीमा सहभागिताको लागि वैशाख ४ गतेदेखि रजिष्ट्रेशन खुला गरिएको नेफ्स्कूनले जनाएको छ । उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र सहभागिताका लागि फाराम खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनद्वारा आव्हान गरिएको छ । प्रदेशगत रुपमा आयोजना हुने गोष्ठीको सहभागिताका लागि छुट्टाछुट्टै लिंक दिईएको र उक्त लिंकमा क्लिक गरि आवेदन भर्नुहुन संघले सूचित गरेको छ । साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवालका विषयमा केन्द्रीत रहेर आयोजना हुन गईरहेको एक दिवसीय गोष्ठीमा राष्ट्रिय स्तरका विषयविज्ञहरुको सहजीकरण रहने जनाएको छ ।
करिब दुई सय जनाभन्दा बढीको सहभागिता रहने हरेक गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरु सहभागी हुन सक्ने जनाएको छ । प्रत्येक गोष्ठीमा तीनवटा सत्र सञ्चालन गरिने, जसमा दुई वटा सत्र वाह्य विज्ञहरूद्वारा तथा एक सत्र संघ व्यवस्थापनद्वारा प्रस्तुत गरिने जनाएको छ । प्रत्येक प्रदेशमा अलगरअलग विषय विज्ञहरूको सहजीकरण रहने नेफ्स्कूनले जनाएको छ । अन्तिम सत्रमा संघको प्रस्तुती सँगै छलफल तथा अन्तरक्रिया हुने संघले जनाएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाईरहँदा नेपालको सहकारी अभियानमा दोस्रो सहकारी वर्षले राखेको उद्देश्यहरु प्राप्तीका लागि सहकारीको पहिचान प्रवर्द्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयका साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा तथा छरिएर रहेको समस्या समाधानको रूपमा गोष्ठी कोशेढुंङ्गा बन्ने अपेक्षा संघको छ।