बिवाईडी सिगललाई २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको मोडल ‘सिगल’ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न न्यूयोर्क इन्टरनेसनल अटो शोमा यो अवार्ड घोषणा गरिएको हो । विश्वभरका उत्कृष्ट ११ सवारीसाधनहरूसँगको प्रतिस्पर्धामा बिवाईडी सिगलले पहिलोपटक चिनियाँ ब्रान्डको रूपमा यो सम्मान जित्न सफल भएको हो । वर्ल्ड कार अवार्ड कार्यक्रमअन्तर्गतको यो उपलब्धिले बिवाईडीलाई विश्व इलेक्ट्रिक सवारी बजारमा थप मजबुत बनाएको छ । सिगलमा ओसन एस्थेटिक्स डिजाइन प्रयोग गरिएको छ, जसले यसलाई ताजगीपूर्ण, आकर्षक र शहरी जीवनशैलीसँग मेल खाने बनाएको छ । स्मार्ट ड्राइभिङ सुविधा, उत्कृष्ट सुरक्षा विशेषता र सहर केन्द्रित प्रदर्शनका कारण यस मोडलले धेरै देशका बजारमा लोकप्रियता कमाउँदै आएको छ ।
यस वर्ष निर्णायक मण्डलीका ९६ अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई सिगलको नविन डिजाइन, शहरमा चलाउन उपयुक्त क्षमता र विश्वव्यापी उपभोक्ताको रुचिमा आधारित अपिलले प्रभावित पारेको थियो । बिवाईडीका कार्यकारी उपाध्यक्ष स्टेला लीले यस उपलब्धिलाई कम्पनीका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै विश्व बजारमा बिवाईडीको दह्रो उपस्थिति पुष्टि भएको टिप्पणी गरिन् । गएको वर्ष २०२४ मा पनि बिवाईडीको ‘डल्फिन’ मोडल वर्ल्ड अर्बन कारको शीर्ष ३ मा पर्न सफल भएको थियो भने ‘सिल’ मोडलले वर्ल्ड कार अफ द इयरको शीर्ष तीनमा स्थान बनाएको थियो । चिनियाँ अटोमोबाइल उद्योगका लागि यस्ता सफलता दुर्लभ मानिन्छन् । नेपालमा बिवाईडीका गाडीहरू आधिकारिक रूपमा साइमेक्स इंकमार्फत बिक्री हुँदै आएका छन् । कम्पनीले बिवाईडी सिगलको नेपाली सडकमा परीक्षण भइसकेको र छिट्टै यसको सार्वजनिक लन्च हुने संकेत दिएको छ । नेपाली ग्राहकहरूका लागि सिगल बहुप्रतिक्षित मोडलको रूपमा हेरिएको छ, जसले नेपालमा पनि इलेक्ट्रिक सवारी बजारमा नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ ।