काठमाडौंमा राजावादीको आन्दोलन- सुरक्षा व्यवस्था कडा
काठमाडौं । राप्रपाले आयोजना गर्न लागेको आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।
सिंहदरबार, संसद भवन, माइतीघर, बालुवाटार र शीतल निवासलगायत क्षेत्रमा सुरक्षा सतर्कता तीव्र बनाइएको छ। काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी टेक तामाङले सुरक्षा रणनीति तयार गरिएको र आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए।
उनले भने, हामी प्रदर्शनलाई शान्तिपूर्ण राख्न चाहन्छौं, तर निषेधित क्षेत्र तोड्न दिँदैनौं। यदि प्रयास भयो भने बल प्रयोग गर्न सकिन्छ । राप्रपाले आज बिजुलीबजारबाट राजसंस्था पुनःस्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै प्रदर्शन गर्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन सरकारको निरंकुशताको विरोधमा प्रतीकात्मक र शान्तिपूर्ण हुने बताएका छन्। उनले सरकारलाई प्रदर्शनबाट नडराउन आग्रह पनि गरेका छन्।




