मन्त्रिपरिषद्को बैठक आज बस्दै, शिक्षकसँग सहमति गर्न प्रस्ताव पेस गरिँदै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ५ बजे बस्न लागेको हो । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय हुने बताइएको छ ।
आन्दोलनरत शिक्षकसँग सहमति खोज्न सरकारले सातबुँदे प्रस्ताव तयार गरेको छ । सो प्रस्ताव सोमबार मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ । प्रस्तावमा अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने, बिरामी बिदाको पैसा दिने, निजामती अस्पतालमा उपचार गराउन छुट दिने, राहत शिक्षकलाई दुर्गम भत्ता दिने, बालविकासका शिक्षकको तलब बढाउने, शिक्षकको मर्यादाक्रम वृद्धि गर्ने र आवश्यकताअनुसार ग्रेड वृद्धि गर्ने बुँदा छन् । विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा मन्त्रालका उच्चाधिकारीसहितलाई निर्देशन दिएका थिए ।