औद्योगिक महोत्सव सम्पन्न, ४ करोडको व्यापार
काठमाडौं । नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारीचौरमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ । तीन लाखले अवलोकन गरेका उक्त महोत्सवमा करिब ४ करोड रुपैयाँको व्यापार भएको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’ भन्ने नाराका साथ औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा १५० भन्दाबढी प्रदर्शनी कक्ष रहेका संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । महोत्सव तीन लाख बढीले अवलोकन गरेको जनाउँदै उनले करिब ४ करोड रुपैयाँको व्यापार भएको बताए ।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडाका साथै विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, अटोमोबाइल, आधुनिक कृषिऔजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीमा उपभोक्ताको बढी घुइँचो रहेको बताउँदै ती सामानको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको उनले जानकारी दिए । महोत्सवका संयोजक दीपक थापाले घोडाचढी, बालउद्यान, ड्रागन ब्रेक डान्स, रोटेपिङ, रेनजर, मारुती सर्कस तथा विभिन्न प्रकारका बच्चाको खेलौनाका प्रदर्शनी कक्षमा बालबालिकाको घुइँचो लागेको बताए । उनका अनुसार स्थानीय खाना महोत्सवमा उपभोक्ताको आकर्षण थियो ।