रास्वपा सभापति लामिछानेको रिटमा आजै फैसला आउन सक्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ ।
सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट आइतबार दर्ता भएको थियो ।
लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ । उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाउने आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही जिल्ला कारागारमा थुनामा छन् ।