माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक रेमिट्यान्स सेवा सम्झौता गरेको छ । बैंकले कुवेतमा रहेका नेपालीहरूले नेपालमा सहज रूपमा पैसा पठाउन सकून् भन्ने लक्ष्यका साथ सो सम्झौता गरेको हो । बिहीबार कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक ह्युज फरनेडबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसी, कुवेतस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघसंस्था र पत्रकारसहित दर्जनौं नेपालीहरूको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्नै कभर गीत पनि सार्वजनिक गर्यो । गीतको रचना पूर्व सञ्चालक हरिभक्त सिग्देलले गरेका हुन् भने सार्वजनिक कार्य बैंक अध्यक्ष केसी र राजदूत राणाले संयुक्त रूपमा गरे । यस सम्झौतासँगै अब कुवेतभर रहेका १४५ शाखाबाट पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै, पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि गरिएको छ । माछापुच्छ्रे बैंकले यो सहकार्यसँगै विदेशमा रहेका नेपालीहरूलाई थप सहज र विश्वसनीय सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *