माता तीर्थ औँसी- आज आमाको मुख हेर्ने दिन
मातृदेवो भव ।
पितृदेव भव ।।
आचार्यदेव भव ।।। .
‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ ‘
नास्ति मातृ समा छाया नास्ति मातृ समा गति:।
नास्ति मातृसमं त्राण नास्ति मातृ समा प्रपा:।।
कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् ।
काठमाडौँ । आज वैशाख कृष्णपक्षको औँसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी । शास्त्रहरूमा आमालाई पिता भन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडीलाई मातातिर्थ औँसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।
आजको दिन आमा प्रति सम्मान र आमालाई सम्झने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पल पलमा सम्झना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार मात्रै होइन । आमा हाम्रो जीवनको आधार स्तम्भ हुन । आमालाई बिहान सबेरै उठी, स्नान गरी, आमालाई उपहार प्रदान गर्ने, मिष्टान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मिठा मिठा परिकारहरू सहित आमा घर अर्थात् माइत (जन्म घर) पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत पनि सम्झने गर्दछन् । मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमा प्रतिका आफ्ना भावना र सम्झनाहरू आमा प्रति व्यक्त गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।
आज काठमाडौँ उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् । तपाईँ पनि आमाबाट पर हुनुहुन्छ भने एक फेर आमालाई फोन गरेर आफ्नी आमाको आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाइसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनु भएका दस धारा दूधका धर्साहरू प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ । आजभोलि विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ, जून मानवता प्रति नै एउटा अभिशाप हो । समय त खोला न हो, आफूले गरेका कुराहरू आफैलाई फर्किने गरी समय पनि आउँछ । बगेको समयमा आफ्नो दायित्वबाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्दछ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले माता तीर्थमा गोठालाहरूले गाईबस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरू मध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै हराए । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले विभिन्न मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा मीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो । माता तीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो ।
आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमा प्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न ताते ताते गर्दै सिकाइन, गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन । देवीको प्रतिरूप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पुरा गरिदिने, कल्पवृक्ष सरि आमा । यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी कोटी नमन छ ।