मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दैछ ।
बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक नियमित भए पनि निकै महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ ।
यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ । नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन् । गभर्नर पद भने २४ चैतपछि रिक्त छ । राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन ।
गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको भनिए पनि अहिलेसम्म उनको नाम गभर्नर नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिबाट सिफारिस हुन सकेको छैन । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्नुपर्नेछ । सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गर्नेछ ।