चलचित्र ‘कार्की साइँला’को निर्मातामा निर्भीक बन्जरा
काठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘कार्की साइँला’को निर्माताका रुपमा व्यवसायी निर्भीक बन्जरा जोडिएका छन् ।
यस चलचित्रमा बन्जरा जोडिएको निर्माण टिमले जानकारी दिएको हो । ‘कार्की साइँला’को केही हप्ताअघि काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिर प्राङ्गणमा शुभ मुहूर्त गरिएको थियो भने हाल निर्माण टिम छायाङ्कनमा जाने तयारीमा रहेको छ । चलचित्रमा निर्माताका रूपमा निर्भीक बन्जरा जोडिएसँगै चलचित्र अब झन् अब्बल बन्ने निर्देशक राजेन्द्र बस्नेतले जानकारी दिए । त्यसै गरी निर्माता बन्जराले पनि आफू चलचित्रको कथा र टिमलाई देखेर चलचित्र राम्रो बन्ने देखिएको र सोही अनुसार आफू जोडिएको बताएका छन् ।
यस चलचित्रको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी रहेका छन् । चलचित्रको निर्देशन भने राजेन्द्र बस्नेत हुन् । यस चलचित्र ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथामा आधारित रहने निर्माण टिमले जानकारी दिएको छ । भरिया बनेर गाउँलेका भारी बोकेर जीविकोपार्जन गर्ने एक पात्रको कथामा चलचित्र बनाउन लागेको निर्देशक बस्नेतले बताएका छन् ।
यस चलचित्रमा जितु र वर्षासहित अन्य कलाकारहरूमा गीता अधिकारी, मान्सी शर्मा, मनिल तामाङ लगायत अन्य कलाकारहरू रहने छन् । धनकुटाको विभिन्न स्थानमा छांयाकन गर्न लागिएको यस चलचित्रको निर्माण टिम अब वैशाखको अन्तिमतिर सो क्षेत्रमा जानेछ ।
कर्ण बहादुर फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतिकर्ता रहेका छन् । त्यसै गरी निर्माताको रूपमा बालकुमार राई तथा निर्भीक बन्जरा रहनेछन् । डम्बरबहादुर राईको छायाङ्कन तथा उनकै कथा रहेको यस चलचित्रमा राजु किराँतीको द्वन्द्व निर्देशन, बाबुल गिरीको सङ्गीत, कमल राईको नृत्य निर्देशन, जीवननाथ गौतमको मुख्य सहायक निर्देशन रहनेछ । त्यसै गरी चलचित्रको पटकथा तथा संवाद अजित लामिछानेले लेखेका हुन् ।