जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले नेपाल भित्र्याउँदै विश्वप्रसिद्ध सिनामन रोल्स
काठमाण्डौं । विश्वप्रसिद्ध बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपाली बजारमा प्रवेश गर्ने भएको छ । स्वादिलो सिनामन रोलका लागि चिनिएको यो अन्तर्राष्ट्रिय ब्रान्डले ललितपुरको सानेपामा आफ्नो पहिलो स्टोर स्थापना गर्दै नेपालको खाद्य तथा रेस्टुरेन्ट क्षेत्रमा औपचारिक पाइला राख्न लागेको हो । सन् १९८५ मा अमेरिकामा स्थापना भएको सिन्नाबोनले अहिले ५० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । नेपालमा यसको यात्रा ‘जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज’को सहकार्यमा सुरु भएको हो । सानेपास्थित पहिलो स्टोरमा ग्राहकहरूले सिन्नाबोन क्लासिक रोल, मिनीबोन रोलजस्ता प्रमुख उत्पादनका साथ प्रिमियम कफी, चिल्लाटा जस्ता पेय पदार्थको स्वाद लिन सक्नेछन् । नयाँ स्टोर एक आकर्षक, न्यानो र आमन्त्रणपूर्ण वातावरणमा तयार गरिएको छ, जहाँ ग्राहकहरूले बेकरीको ताजापन महसुस गर्न सक्नेछन् ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामी नेपाली उपभोक्तालाई सिन्नाबोनका विश्वप्रसिद्ध स्वादहरु चिनाउन पाउँदा उत्साहित छौं । गुणस्तरीय बेकरी उत्पादन मन पराउने नेपाली ग्राहकहरुका लागि यो एक नयाँ अनुभव हुने विश्वास लिएका छौं।’ गो टु फुड्स इन्टरनेशनलका एसियाप्यासिफिक उपाध्यक्ष स्टिभन याङले भने, ‘सिन्नाबोन नेपालमा ल्याउनु भनेको केवल नयाँ स्टोर खोल्नु होइन, यो एउटा अद्वितीय स्वाद र अनुभव बाँड्नु हो। हामी नेपाली ग्राहकसँग सिन्नाबोनका यादगार पलहरु सिर्जना गर्न चाहन्छौं।’ सिन्नाबोन नेपालले सानेपामा आफ्नो पहिलो स्टोर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्घाटन अवसरमा विशेष छुट, उपहार र प्रवर्द्धनात्मक अफरहरु तथा पहिलो ग्राहकहरूका लागि रोमाञ्चक प्रमोशनहरू उपलब्ध गराउने तयारी गरेको छ ।