हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसमा सदस्यलाई सम्मान
दोलखा । चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्था २९ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य सम्मान तथा जेष्ठ सदस्य प्रोत्साहन खर्च बितरण गरेको जनाएको छ । त्यसैगरी यसै अवसरमा संस्थाका उद्यमी सदस्य सम्मान तथा हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसिपमा सहभागी पत्रकारहरुलाई प्रशंसापत्र बितरणका साथै हाम्रो जनकल्याण सदस्यको आवाज २०८२ समेत बिमोचन गरेको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य, भरत बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खडका, जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा, भीमेश्वर नगरपालिका ५ का वडा अध्यक्ष बासु श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, अन्य सहकारी संस्थाका पदाधिकारी तथा संस्थाका सल्लाहकार, पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु, उपसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बचत तथा ऋण कारोबार मार्फत सदस्यको समृद्धि र सर्वोत्कृष्ट संस्था बनाउने लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताए । कार्यक्रममा सदस्यको उत्पादनलाई सहकारीका नाममा ब्रान्डिङ तथा प्याकेजिङ गर्ने र बिरतणलाई व्यापक बनाउने उद्देश्यले अन्तरिक्रया समेत गरिएको उनले जानकारी दिए । संस्थामा ९ हजार ५४५ जना शेयर सदस्य तथा ६ करोड ४९ लाख ३८ हजार शेयर पूँजी रहेको जनाइएको छ । त्यसैगरी संस्थामा ५ करोड ७७ लाख ७८ हजार जगेडा कोष तथा ४ करोड ८९ लाख ७९ हजार अन्य कोषमा रहेको छ । संस्थामा ७१ करोड १३ लाख १४ हजार बचत तथा १ हजार २६१ जना ऋणी सदस्यमा ६० करोड ९८ लाख १६ ऋण लगानी रहेको जनाइएको छ । संस्थाको ८७ करोड ८९ लाख ३१ हजार कूल सम्पत्ति रहेको छ।