दुर्गा प्रसाईंलाई छाड्न मिलेन, तर उपचारको प्रबन्ध गर्नू : जिल्ला अदालत
काठमाण्डौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुनः स्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईंको उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। इजलास समक्ष पेस गर्दा प्रसाईंले आफू क्यान्सरको बिरामी भएको जिकिर गरेका थिए। उनले यसअघिका इजलासमा पनि आफू क्यान्सरको बिरामी भएकाले साधारण तारिख वा हाजिर जमानीमा छाडिपाऊँ भन्दै निवेदन दिएका थिए। यस विषयमा यसअघिका इजलासले पनि प्रसाईंको उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो।
आइतबार न्यायाधीश कार्कीको इजलासले पनि पुनः आदेश दिँदै भनेको छ,प्रसाईंको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्नू भनी यो आदेश गरिदिएको छ। यस्तै प्रसाईंको माग बमोजिम हाजिर जमानी र तारिखमा छाड्न नमिल्ने पनि उक्त आदेशमा उल्लेख छ। प्रतिवादी (प्रसाईं) को ज्यान सम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी नै रहेको भन्ने देखिएकाले निवेदन माग अनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न मिलेन, आदेशमा भनिएको छ। चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन भएको थियो। तर उक्त आन्दोलनमा प्रसाईंले हिंसा भड्काएको आरोप छ। उनीमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध, ज्यान मार्ने उद्योग लगायत कसुरमा अनुसन्धान भइरहेको छ। चैत १५ गते घटना पछि प्रसाईं फरार भएका थिए। उनी त्यहाँबाट भागेर भारतको असम पुगेर लुकेका थिए। त्यहाँबाट प्रहरीले पक्राउ गरी चैत २९ गते नेपाल फिर्ता ल्याएको थियो। उनका ुअंगरक्षकु दीपक खड्कालाई पनि प्रहरीले उनीसँगै पक्राउ गरी ल्याएको थियो।