विश्व समाजवादी आन्दोलन र बीपी विचार
सिरहाको लहान बस्दा भेट्न गएको थिएँ एकपटक समाजवादी चिन्तक स्व. प्रदीप गिरीलाई, उनकै निवास बस्तीपुरमा। बीपी विचारका व्याख्याता तथा अब्बल समाजवादी चिन्तक उनलाई राजनीतिमा सधैँ जिताए जनताले तर कहिल्यै सत्तामा बसेनन् । वैचारिक सत्ताका कुशल नेता गिरी प्रजातान्त्रिक समाजवादका प्रखर वक्ता पनि हुन् ।
सम्झन्छु प्रसंगमा उनका भनाइ – “नेपाली काँग्रेस बीपीविचार बाहेक कुनै बौद्धिक र सैद्धान्तिक धरातल लिएर आउन सकेकै छैन आज सम्म । सधैँ समयानुकूल हुने बीपीको जस्तो कालजयी विचार दिनसक्ने व्यक्ति जन्मनु आवश्यक छ !”
विचार र क्षमता भएर पनि धन नहुनेले आजको महँगो राजनीतिमा प्रतिस्पर्धा गर्न मुस्किल देखिएको सान्दर्भमा मेरो एउटा प्रश्न थियो – ” राजनीतिमा विचार र निष्ठा महत्वपूर्ण भए पनि अर्थ अभावले पछाडि पर्न बाध्य छैनन् र नहुनेहरु ?” कितावको थाक उता सार्दै भनेकाे सम्झन्छु – “बीपीले भोगेको निर्वासन र गरिबीलाई बिर्सनु हुन्न । आजका समृद्ध र सुविधाभोगी कांग्रेसलाई थाहा नहुन सक्छ, सुवर्ण शमशेरको उदार मन बीपीको विचार र हजारौं कार्यकर्ताको त्याग र बलिदानले बनेको पार्टी हो कांग्रेस ।”
त्यो बेला मलाई सीके प्रसाईँको सर्वस्वहरण, तुर्षा हेमरमले खपेको यातना र देशकोलागि त्याग र बलिदान गर्नेहरुको इतिहास बल्झिएको थियो आँखामा। लहानका मेरा तत्कालीन सहकर्मी भाई रमेन्द्र चौधरीले पुर्याएका थिए उनीसम्म । आफन्तकोमा बस्दारहेछन् प्रदीप दाई ! उनले बीपीको प्रजातान्त्रिक सामाजवादको विषयमा गरेका व्याख्याहरु अत्यन्त सरल र महत्वपूर्ण छन् । बीपी कोइराला नेपाली इतिहासमा त्यस्ता नेता हुन्, जसको विचारले राजनीतिलाई केवल सत्ता लिने साधन होइन, समाज रूपान्तरण गर्ने माध्यम बनाउने आँट गर्यो। उनी नेपाली जनताको राजनीतिक अधिकार, सामाजिक समानता र आर्थिक न्यायका लागि लड्ने मात्र होइन, त्यसको दर्शन र अभ्यासलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने नेताका रूपमा चिनिन्छन् ।
बीपीको लोकतान्त्रिक समाजवादको दर्शन न त अधिनायकवादी साम्यवाद थियो, न त केवल पश्चिमी शैलीको पुँजीवाद । नेपालजस्तो बहुजातीय, बहुभाषिक र गरिबीले गाँजिएको देशमा नागरिक स्वतन्त्रता, समान अवसर र समन्वयात्मक समाज निर्माण गर्ने विचार, प्रस्तुती र दृष्टिकोणले बीपीलाई विक्रम संवत् २०१८ यता ‘सोसलिस्ट इन्टरनेशनल’ नामक विश्व समाजवादी मञ्चमा पुर्यायो । जहाँ उनी नेपाली जनताको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने पहिलो नेपाली नेता बने।
सोसलिस्ट इन्टरनेशनलको स्थापना विक्रम संवत् २००८ सालतिर भएको हो, जब दोस्रो विश्वयुद्धपछिको विनाशमा विश्वले नयाँ राजनीतिक विकल्प खोजिरहेको थियो। पश्चिम एकातिर उदार पुँजीवादमा अघि बढिरहेको थियो भने पूर्व कम्युनिस्ट अधिनायकवादमा जकडिँदै थियो। त्यही बेला यूरोप र विश्वका थुप्रै प्रगतिशील नेताहरूले ‘लोकतन्त्रसहितको समाजवाद’ भन्ने वैकल्पिक बाटो प्रस्ताव गरे। यही विचारले बीपी कोइरालाको सोच र विचारसँग गहिरो मेल खायो ।
नेपालमा २००७ को पहिलो प्रजातान्त्रिक क्रान्ति सफल भएपछि विक्रम संवत् २०१५ मा बीपी कोइराला प्रधानमन्त्री बने। तर उनको सरकार विक्रम संवत् २०१७ मा राजा महेन्द्रले गरेको सत्ता अपहरणका कारण अपदस्त भयो। राजा महेन्द्रले संविधान, संसद र राजनीतिक पार्टीहरू निषेध गरी पञ्चायती निरंकुशता स्थापना गरे। बीपी कोइरालालाई गिरफ्तार गरी थुनामा राखियो। यहीबाट सुरु भयो बीपीको निर्वासन, प्रजातन्त्रको हरण, संघर्ष र समाजवादी इन्टरनेशनलसम्मको यात्राको कथा।
भारतमा निर्वासित जीवन बिताउँदै गर्दा बीपीले नेपालका जनताको आवाज बोेलेर अन्तर्राष्ट्रिय समर्थन जुटाउने काम निरन्तर गरिरहे। त्यतिबेलाका प्रमुख अन्तर्राष्ट्रिय समाजवादी नेताहरू भारतका नेहरू, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, चन्द्रशेखर लगायत र विल्ली ब्रान्ड्ट (पश्चिम जर्मनी), ओलोफ पाल्मे (स्वीडेन), माइकल म्यान्ली (जमैका), ब्रुनो क्रेइस्की (अस्ट्रिया) जस्ता हस्तिहरूसँग उनले निकट सम्बन्ध विकास गरे। बीपी कोइराला विक्रम संवत् २०२७ सालमा सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षको रूपमा चयन भए । त्यो केवल व्यक्तिगत सम्मान मात्र थिएन, नेपालको लोकतान्त्रिक आन्दोलनप्रति विश्वको ऐक्यबद्धताको मूर्त स्वरूप थियो।
बीपी कोइरालाको समाजवाद जनतामैत्री, समावेशी र मानवीय थियो। उनले भनेका थिए, “लोकतन्त्रविनाको समाजवाद आत्माहीन हुन्छ।” समाजवाद जनतालाई अधिकारबाट वञ्चित गरी लाद्ने व्यवस्था होइन, जनताको सहभागिता, शिक्षा, स्वाधीनता र आत्मसम्मानमा आधारित व्यवस्था हो भन्ने उनको धारणा थियो। यही कारण उनले नेपालको सन्दर्भलाई समाजवादी इन्टरनेशनलका सम्मेलनहरूमा फरक कोणबाट प्रस्तुत गरे। सामाजिक न्याय, भूमिसुधार, शिक्षा, स्वास्थ्य, बेरोजगारी जस्ता विषयहरूलाई ‘लोकतान्त्रिक आर्थिक कार्यक्रम’ का रूपमा अघि सारे।
त्यो विषय नेपालको भावी व्यवस्थाको रुप बुझेका राजा महेन्द्रसंग बीपीको सम्बन्ध झनै चिसियो । तर पनि बीपीले राजसंस्थालाई उखेलेर फाल्नुपर्ने नभई, संवैधानिक सीमाभित्र राख्नुपर्ने विचार राखे। तर राजा महेन्द्र सक्रिय सत्ता लिप्सामा थिए। यद्यपि राजसंस्थालाई लोकतान्त्रिक व्यवस्थामा रुपान्तरण गर्न चाहन्थे बीपी । यही कारण शाही शक्तिको कट्टर विरोधी त बनेनन्, तर उनी लोकतन्त्रमाथिको हस्तक्षेपका विरुद्ध भने जहिल्यै आवाज उठाउँदै गए।
राजा वीरेन्द्रसँग भने बीपीको सम्बन्ध केही सहिष्णु रहेको पाइन्छ। बीपीले निर्वासनपछि स्वदेश फर्किनुअघि विक्रम संवत् २०३३ मा राजा वीरेन्द्रलाई पत्र लेखेर फर्किने इच्छा व्यक्त गरे। उनले ‘राष्ट्रिय मेलमिलाप नीति’ अघि सारे। जसको सार विदेशी हस्तक्षेप हुनुहुन्न, नेपालीबीच नेपालीले लड्नुको सट्टा, लोकतन्त्र, शान्ति र समृद्धिका लागि मिलेर अघि बढ्नुपर्छ । राजा वीरेन्द्रले पनि राष्ट्रको एकताको नाममा उनीलाई फर्कन दिए। यद्यपि बीपीको यो कदम केही कट्टरपन्थीलाई आपत्तिजनक लाग्यो। तर समाजवादी इन्टरनेशनलका नेताहरूले यो दृष्टिकोणलाई परिपक्व राजनीतिक समन्वयको उदाहरण माने।
बीपीले विश्वभरि भएका समाजवादी इन्टरनेशनल सम्मेलनहरू ओस्लो, स्टकहोम, जेनेभा, भ्यांकुभरमा नेपालको राजनीतिक उत्पीडन र नेपाली जनताको आकांक्षालाई उठाए। वर्गसंघर्ष होइन, वर्ग सम्मान, उत्थान र सामानताको आवश्यकता औँल्याए । उनले भने “नेपालजस्तो देशमा लोकतन्त्र विलासिता होइन, अस्तित्वको आवश्यकता हो।” उनी जेल, निर्वासन, स्वास्थ्य समस्या हुँदा पनि जनताको पक्षमा सधैं अडिग रहे। विक्रम संवत् २०३६ सालमा फेरि जेल परेका उनलाई राजाले उपचारका लागि भारत जान दिएका थिए। तर बीपीले नेपाल फर्केर फेरि लोकतान्त्रिक आन्दोलनलाई जीवन्त बनाउने प्रण गरे । उनले राजासंग बारम्बार संवादको ढोका खुला राखे, वार्ताको सन्देश दिए तर विचारमा कुनै सम्झौता गरेनन्।
आजको नेपालमा समाजवाद र लोकतन्त्र दुबै शब्द केवल नारामा सीमित हुँदै गएका छन्, अवसरवाद र सत्ता भागबण्डाले राजनीतिक मूल्यहरूलाई ओझेलमा पार्दै छन्, यतिबेला बीपीको विचार अझै सान्दर्भिक बनेको छ। उनले देखाएको बाटो ,लोकतान्त्रिक समाजवाद, आजको सामाजिक विभाजन, आर्थिक असमानता र राजनीतिक निराशाबीच सशक्त विकल्प हुनसक्छ। समाजवाद केवल आर्थिक नीतिको कुरा होइन, यो एक जीवनदर्शन र पद्धती पनि हो, जहाँ जनताको आत्मसम्मान र अवसर समान रूपमा सम्मानित हुन्छ।
बीपी कोइरालाको भूमिका समाजवादी इन्टरनेशनलमा एउटा यस्तो उदाहरण हो, जहाँ सानो देशका नेताले पनि ठूलो विचार बोकेर विश्वमञ्चमा आफ्नो राष्ट्रलाई प्रस्तुत गर्न सक्छ। उनले नेपाललाई केवल एशियाको पुरानो सार्वभौम राष्ट्रको रूपमा मात्र चिनाएनन् बरु लोकतन्त्र र मानवअधिकारका लागि लड्ने देशको प्रतीक पनि बनाइदिए। उनको विचार आज पनि उत्तिकै सान्दर्भिक छ । यो वर्तमान नेतृत्वले बुझ्न जरुरी छ ।
(लेखक नेका झापाका सूचना, संचार तथा प्रचार विभाग संयोजक हुन् )