रिलायन्स स्पिनिङ मिल्सको कुल नाफा १ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१।८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ । कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । गत असारको तुलनामा चैतसम्ममा कम्पनीको कुल नाफा १६ करोड ३४ लाख ४७ हजार रुपैयाँले बढी हो । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आवको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो । त्यसपछि चालु आवमा क्रमशः बढेर तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा कायम भएको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

विसं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । साथै लगानी पनि बढेर १५ अर्बभन्दा बढी पुगिसकेको छ । यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ । कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *