ट्रंक लाइन महसुल नउठाऊ भनेको छैन- ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले सरकारले ट्रंक लाइन, डेडिकेटेड लाइनको विद्युत् महसुल नउठाऊ भनेर कसैलाई पनि नभनेको स्पष्ट पारेका छन्।

विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफूविरुद्ध मिडियामा विभिन्न प्रचारबाजी भए पनि आफूले त्यस्तो कुनै दबाब नदिएको दाबी गरे । मन्त्री खड्काले टीओडी मिटरमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगकै भएको बताए। विद्युत् बक्यौताको समस्यालाई टुङ्ग्याउने गरी नियमन आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो। विगतमा ऊर्जा क्षेत्रमा ‘झोलामा खोला’ भन्ने प्रचलन रहेको स्मरण गर्दै उनले अहिले त्यो अवस्था परिवर्तन भइसकेको दाबी गरे।

उनले भने, ‘टीओडी मिटरका विषयलाई लिएर यति धेरै विवाद भयो। तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिकरणले बक्यौता उठाउन नसक्ने र अनर्गल प्रचार गरियो। यसले कसलाई फाइदा पुर्याउँछ? वास्तवमा यसको छिनोफानो गर्ने जिम्मेवारी नियमन आयोगको हो। उपभोक्ता भन्नुहुन्छ हामी तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, अर्थात् हामीले पठाएकै बिल हो। भनेपछि त्यो बिल ठिक छ कि छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो। सरकार हरेक पक्षलाई न्याय हुनेगरी उपभोग गरेबापतको महसुल तिर्न उद्योगीलाई भनेको छ र उपभोक्ता नठगिने गरी बाँकी बक्यौता उठाउन सरकारले भनिरहेको छ।’

मन्त्री खड्काका अनुसार सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै ऊर्जा क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। त्यसैअनुरूप बाधा अड्चन हटाउने कानुनहरू परिमार्जन गर्न सरकार तयार रहेको बताउँदै उनले सबै क्षेत्रमा काम नगर्ने प्रवृत्तिलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *