प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदद्वारा राष्ट्रिय मुद्दाहरूको उठान
काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दाहरू उठाएका छन्।
सांसद अमनलाल मोदीले डोल्पामा निर्माण हुने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। उनले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको दाबी गर्दै नेपालबाट भइरहेको अवैध पुँजी पलायन रोक्न र विदेशिएको रकम फिर्ता ल्याउन आवश्यक प्रक्रिया थाल्न सरकारसँग आग्रह गरे।
बैठकमा सांसद विमला सुवेदीले कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजनिक यातायातको ठक्करबाट एक जनाको मृत्यु र तीन जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरिन् । उनले सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताइन्।
सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने बताए। साथै, उनले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग विशेष आग्रह गरे।