रमपम, टुपीएम र प्रिती उत्पादक एसियन थाईले नयाँ चाउचाउ ल्याउने
काठमाडौं । एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गरेको छ । रमपम, प्रीति, टुपीएम लगायत चाउचाउ उत्पादक एसियनले उत्पादन विस्तार गरेको हो । एसियन थाई फुड्स नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको हो । एक विशेष समारोहबीच जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पुजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन् ।
उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो । सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो । यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू प्रीति, टुपीएम, रमपमसहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ । कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ । करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ । यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।