ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न प्रचण्डलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका माननीयज्यूहरूले टिप्पणी भन्दा पनि गाली गलौचको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिन ।
ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली गर्ने । त्यसमा मैले केही भनिरहन आवश्यक छैन जस्तो देख्छु । आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै हो ।’