दीगो विकास र गुणस्तरीय बीमा सेवाको लागि कार्ययोजना बनाएर अघि बढ्नेछु : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष शरद ओझाले नेपालमा बीमाको दीगो विकास र गुणस्तरीय बीमा सेवाको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बीमा प्राधिकरणको आयोजनामा आज आयोजित बार्षिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरणबाट हालसम्म हुँदै आएको कार्य सम्पादनलाई नयाँ शैलीमा सञ्चालित गर्दै जाने उल्लेख गरेका छन् । उनले बीमा कम्पनीहरूको कामलाई थप पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै दाबी भुक्तानी प्रक्रियामा देखिएको समस्या प्रभावकारी अन्डरराइटिङ गर्न नसक्दा आएको स्पष्ट पारे । ‘यस समस्यालाई सुधार गरी दाबी प्रक्रियालाई व्यवस्थित बनाइनेछ’ अध्यक्ष ओझाले भने । बीमा नियमनलाई प्रभावकारी बनाउँदै उच्च जोखिम भएका बीमकहरूमा निगरानी बढाइने र न्यून जोखिम भएका क्षेत्रमा निगरानीको स्तर घटाइने उल्लेख गर्दै उनले जोखिममा आधारित सुपरिवेक्षण विधि अवलम्बन गरिसकेको जानकारी दिए । ‘यसले बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्य थप मजबुत बनाउनेछ’ उनले स्पष्ट पारे । छरिएर रहेका निर्देशन र निर्देशिकाका कारण प्रभावकारी नियमनमा गर्न नसकेको भन्दै अध्यक्ष ओझाले आगामी साउनदेखि लागू हुने गरी एकीकृत निर्देशन ल्याउने तयारी भइरहेको जानकारी गराए । ‘उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रमा विधि पालना गराउन सहयोग गर्नेछ । आगामी साउनदेखि एकीकृत निर्देशिका ल्याउने काम गरिरहेका छौं । पहिलो ड्राफ्ट जेठ पहिलो साताभित्रैमा तयार पारेर अन्तिम रुप दिई साउनबाट एकीकृत निर्देशन जारी हुनेछ’ अध्यक्ष ओझाले भने । अध्यक्ष ओझाले बीमा प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिमा पनि ध्यान दिइएको बताए । उनले कर्मचारीको दक्षता वृद्धिका लागि देश तथा विदेशमा तालिम सञ्चालन गरिने, प्राधिकरणको हालको संगठन संरचनामा पुनरावलोकन गरिने र ओएनएम सर्वेक्षणबाट नयाँ प्रशासनिक संरचनातर्फ जाने योजना रहेको उल्लेख गरे। उनले कार्यालय सञ्चालन प्रणालीलाई पनि पेपरलेस बनाउने योजना अघि सारिएको जानकारी दिए । ‘कार्यक्षमता मूल्याङ्कन गरेर पुनरावलोकन गर्दै अघि बढ्छौं’ अध्यक्ष ओझाले भने, ‘बीमितले बीमकबाट प्रभावकारी सेवा प्राप्त गर्ने अवस्था बनाइनेछ ।’ बीमा मध्यस्थता सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित छुट्टै शाखाबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताए ।

हाल उजुरी शाखामार्फत हुँदै आएको मध्यस्थता प्रक्रिया सुधार गरेर संस्थागत बनाइने उनको भनाइ थियो । बीमा क्षेत्रमा विश्लेषणात्मक सोच विकास गर्ने उद्देश्यले प्रत्येक महिनामा तथ्याङ्क र विश्लेषणात्मक सामग्री प्रकाशित गरिने योजना रहेको पनि अध्यक्ष ओझाले खुलाए ।नेपाल बीमा प्राधिकरणमा हाल १६० भन्दा बढी कर्मचारी कार्यरत रहेको अध्यक्ष ओझाले बताए ।
त्यस्तै, अध्यक्ष ओझाले कर्णाली प्रदेशले घरबीमा कार्यक्रम गर्न खोजिरहेकोबताएका हुन् । उनले बीमा अभिकर्ताको क्षमता विकास र तालिम प्रभावकारी बनाइने प्रतिबद्दता ब्यक्त गरे । वेभ एग्रिगेटर, काम गर्न सुरु गरिसकेका अध्यक्षको भनाइ रहेको थियो । आगामी आवमा कानुनी ढाँचा तयार गरी अन्य बीमा सेवालाई बजारमा प्रवेश गर्न सक्ने विश्वास लिइएको उनको भनाई छ । उनले थपे, ‘बीमाको दायरा बढाउने गरी बीमकले नयाँ नयाँ प्रडक्ट ल्याउनु पर्दछ । समयमा स्वीकृत दिएर सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । बीमा कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, बीमाको पहुँच बृद्धि गर्न, सबै सरोकारावालासँग सहकार्य आवश्यक छ । लगानीका जम्मा ११–१२ वटा मात्रै खोलेका छौं । हामीले हाम्रो क्षमता पनि बढाउनु पर्दछ । बीमा कम्पनीहरुले पनि लगानी प्रभावकारी बनाउन आन्तरिक योजना बनाउनु पर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *