देशभर एकघण्टा बढी अन्धकार !

काठमाडौं । भारतबाट नेपालमा आयात गरिएको बिजुली लाइनमा समस्या आएपछि बिहीबार बेलुका कम्तिमा डेढघण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो नागरिकहरु अन्धकारमा बस्न बाध्य भए । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट बिजुली आयात भइरहेको चार सय केभी ढल्केबर–मुजप्फरपुर लाइनमा समस्या आएको थियो । समस्या नेपालतर्फ नभइ भारततर्फ नै आएको प्राधिकरणले जनाएको छ । प्रणालीमा समस्या देखिएपछि नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य समाधानका लागि आफैं खटिएको जनाएका छन् । उनका अनुसार समस्या आउनासाथ भारतबाट सहयोग मागेर समाधान गरिएको थियो । ठूलो हावाहुरीका कारण प्रशारणलाइनमा समस्या आएका कारण बिजुलीको लाइन गएको हो,” शाक्यले बाह्रखरीसँग कुरा गर्दै भने । उनले काठमाडौं, पोखरा, मध्य र पूर्वी नेपालमा एक घण्टा बढी समस्या देखिएको बताए पनि प्राधिकरणका अर्का एक अधिकारीकाअनुसार देशभर नै बिजुली प्रणालीमा समस्या आएको थियो ।

त्यहाँ बनाउन धेरै समय लाग्यो । अरु प्रणालीमा पश्चिमतिर चलेको छ । पूर्व र काठमाडौंमा समस्या हो, शाक्यले भने, हामीले भारततर्फबाट सहयोग मागेर बनाउँदा अलि ढिला भएको हो । तर प्राधिकरणका उच्च अधिकारीका अनुसार चितवन पश्चिमतिर पनि बिजुली गएको थियो । पश्चिम नेपालतिर केही स्थानमा बिजुली थियो, बाँकी स्थानमा थिएन, ती अधिकारीले भने । क्रस बोर्डर लाइनमा समस्या आएको हुँदा लाइन गएको प्राधिकरणको प्रतिक्रिया छ । यो विशुद्ध प्राविधिक समस्या हो, प्राधिकरणले भनेको छ । यसैबीच सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *