जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभई भविष्य नै खतरामा पार्दै गएको बताएकी छन्।

काठमाडौँमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभई विश्वकै समस्या भएको बताइन्। यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको उनको भनाइ थियो। यो विश्वव्यापी संकटसँग जुध्न कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन्। सगरमाथा संवाद यही सामूहिक प्रयासको सुरुवात भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित भएको बताइन्। यो आदर्श वाक्यले बहस र संवादको भावनामा तथा फरक विचार र दृष्टिकोणको आदानप्रदानमार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्ने उनको भनाइ थियो।

संवादले प्रतिबिम्ब र आत्मनिरीक्षणको लागि अवसर प्रदान गर्ने बताउँदै उनले यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेको र यस विषयवस्तुभित्र रहेर विश्वले जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन्। जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा. राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन्।

नेपालले यसको संकट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेका दृष्टान्त पेश गर्दै उनले नेपालले नदी, वन र पहाडहरूको संरक्षकको रूपमा कार्यरत रहे पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न बाध्य भएको बताइन्। यो गम्भीर अन्याय भएको र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्ने उनको भनाइ थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *