राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको उल्लेख गर्दै यहाँ मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीहरूलाई शुभकामना दिने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन्। “विविध जातजाति, समुदाय, भाषाभाषी र संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसैको माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ। हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले भने।
उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा मुस्लिम समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गरे। “पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ भन्ने मैले विश्वास लिएको छु। हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकूल आवश्यक नीति, नियम र प्रबन्ध मिलाउनुपर्ने तर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु,” राष्ट्रपति पौडेलले भने।