होन्डाको सवारी साधन बिक्री गर्ने स्याकार ट्रेडिङको व्यापारमा उच्च वृद्धि
काठमाडौं । नेपाली बजारमा होन्डा ब्रान्डको सवारी साधन बिक्री गर्ने स्याकार ट्रेडिङ कम्पनीको व्यापारमा उच्च वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा उच्च कारोबार गर्दा व्यापारमा सुधार आएको पाइएको हो । कोरोनापछि आर्थिक मन्दीका कारण खस्किएको व्यापार पुनः रिबाउन्ड हुँदै गएको कम्पनीको व्यापारको तथ्याङ्कले देखाउँछ । कम्पनीले रेटिङमार्फत् चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो त्यस्तै, कम्पनीले सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा चालु आर्थिक बर्षमा बजारमा दुई पाङ्ग्रे सवारी साधनको माग बढेको अनुमान गर्न सकिन्छ । कम्पनी अनुसार सन् २०२५ मा विगतका वर्षहरुको तुलनामा व्यापारमा सुधार आएको उल्लेख गरेको छ । बजारमा सवारी साधनको बिक्रीका लागि उच्च प्रतिस्पर्धा छ । कम्पनीले स्कुटर सेग्मेन्टमा बजाज, यामाहा, टीभीएसलगायत अन्य ब्रान्डसँगै विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तर, त्यसका बाबजुद कम्पनीको स्कुटर नेपाली बजारमा निकै माग रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले सन् २०२४ मा व्यापार गरेकोमा स्कुटरबाट मात्रै ६५ प्रतिशत आम्दानी गरेको जनाएको छ । सन् २०२३ मा ६६ प्रतिशत उक्त सेग्मेन्टबाट मात्रै भएको थियो । स्कुटरमा पनि बढी बिक्री हुनेमा डियो ११० र डियो १२५ रहेको छ । सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ सन् २०११ मा अधिग्रहण भएको थियो । यो कम्पनीले होन्डा ब्राण्डका दुई पांग्रे, यात्रुबाहक निजी सवारी तथा होन्डा पावर प्रोडक्टहरु नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । काठमाडौं कान्तिपथस्थित ज्योति भवनमा केन्द्रीय कार्यालय रहेको कम्पनीको देशभरमा १६ वटा बिक्री सोरुम र एक सय बढी डिलरसिपहरु रहेका छन् । कम्पनीमा ज्योति ग्रुपका सौरभ ज्योति अध्यक्ष र सुहृद ज्योति उपाध्यक्ष रहेका छन् । कम्पनीमा दुई जनाको बराबर स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ६४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।