सरकार र संसद् दुवै राम्रो लयमा चल्न सकेन- सांसद गौतम
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले सरकार र संसद् दुवै राम्रो लयमा चल्न नसकेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार पनि सरकारजसरी चल्न नसकेको र सदनमा जनताको समस्याहरु प्रतिबिम्बित हुन नसकेको बताएका हुन् । उनले न्यायपालिका प्रति पनि जनताको आशा र भरोसा मर्दै गएको आफूले अनुभूत गरेको उनले बताए । उनले भने- ‘अहिले जुन सरकारमा हामी छौं, सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ । तर, जुन सरकार सरकारजस्तो गरी चलिरहेको अनुभूति गर्न सकिइरहेको छैन म । संसद्मा जुन भाइब्रेसन हुनुपर्ने हो, जसरी चल्नुपर्ने हो, जहाँ जनताका समस्याहरुलाई रिफ्लेक्ट हुनुपर्ने भर्ने हो । त्यसरी संसद पनि भाइब्रेट भएको पाउँदिन म । कता–कता न्यायपालिका तिर पनि जनताको आशा, भरोसा पैदा नभएको जस्तो लाग्छ र जनता निराश छन् । हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं ।’
नेता गौतमले यस्तो अवस्थाबाट देशलाई मुक्त गर्न शीर्षस्थ नेताहरुले राष्ट्रिय सहमतिको बाटो रोज्दा उपयुक्त हुने बताए । उनले गणतन्त्र, संघीयता, तीन तहका सरकारलगायतको उपलब्धी रक्षाको लागि शीर्षस्थ नेताहरु एक ठाउँमा आएर जनतामा आशा र भरोसा जगाउन सक्नुपर्ने उनले बताए ।
‘आदरनीय नेताहरुलाई एक पटक फेरि आग्रह गर्न चाहन्छु– अब धेरै अबेला हुन्छ । एक पटक शीर्षस्थ नेताहरुले टाउको जोड्नुस् । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छ् । राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा पैदा गर्न सक्यौं भने हामी एक ठाउँमा पुगौला । होइन भने हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार, हाम्रो हालत राम्रो छैन । उनले भने ।