सूर्य नेपाल च्यालेन्ज भोलिदेखि सुरु

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ २५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन् । चार दिने प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोहीअनुसार कठीन बनाइएको छ । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। यो पटक नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले व्यक्तिगत कारण सहभागीता नजनाउने भएका छन् ।

सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीहरूलाई कडा चुनौती दिन सक्ने आँकलन गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशस् ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *