नेपाली कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए । ‘असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने निर्णय आज बसेको बैठकले गरेको छ,’ केन्द्रीय सदस्य समेत रहेका स्नेहीले भने । नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ । उनका अनुसार अहिले ७७ जिल्लामा अनलाइनमा क्रियाशील सदस्यताको नवीकरण प्रविष्ट गर्ने काम भइरहेको छ ।

‘सबै जिल्लामा सदस्यता नवीकरणको विवरण प्रविष्ट गर्ने काम भइरहेको छ , काम नभएको र सुरु नगरेको भन्ने जिल्ला छैन । असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको पनि स्नेहीले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा चर्को विवाद देखिएको निष्कर्ष समितिको आज बसेको बैठकले निकालेको छ । सदस्य स्नेहीका अनुसार काठमाडौँ, बारा, सर्लाही, ओखलढुङ्गा खोटाङ, सिराहा, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासीलगायतमा चर्को विवाद देखिएको छ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको एउटा पालिकाका तीन वडामा विवाद छ । चर्को विवाद भएकाका जिल्लामा समितिका सदस्यहरू स्थलगत गएर मिलाउने प्रयास गर्ने स्नेहीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *