ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लब कार्ड सार्वजनिक
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा ग्राहकलाई लक्षित गर्दै ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् । यस कार्डमार्फत यती एअरलाइन्सको टिकट खरिद गर्दा ग्राहकले पहिलो टिकटमा शतप्रतिशत क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्, जसअनुसार पहिलो टिकट निःशुल्क हुनेछ । साथै, प्रत्येक टिकटमा १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । ग्लोबल स्काई क्लब कार्ड लिने ग्राहकले प्रारम्भिक रूपमा १०० बोनस प्वाइन्ट पाउनेछन्, जसलाई छुट र अन्य सेवामा उपयोग गर्न सकिनेछ । साथै, पोस मेशिन वा ई–कमर्समार्फत हुने कारोबारमा प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्रदान गरिने व्यवस्था गरिएको छ । कार्डधारी यात्रुले चेक–इन तथा बोर्डिङमा प्राथमिकता प्राप्त गर्नुका साथै ५ केजी अतिरिक्त लगेज बोक्न सक्ने सुविधा पनि पाउने छन् ।
कार्यक्रममा बोल्दै सीईओ रेग्मीले डिजिटल कारोबार विस्तारमा यो सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । यती एअरलाइन्सका सीईओ सापकोटाले दुवै संस्थाका ग्राहकहरूलाई सहज, सुलभ र लाभदायक सेवा उपलब्ध गराउने हेतुले गरिएको सहकार्य महत्वपूर्ण भएको बताए । कार्यक्रमका सहभागी सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले भविष्यमा थप सहकार्य विस्तार गरिने प्रतिबद्धता जनाए । ग्लोबल आइएमई बैंकले हाल देशभर ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । बैंकले २०२४ का लागि ग्लोबल फाइनान्स र युरोमनी अवार्ड प्राप्त गरेको नेपालकै सर्वोत्कृष्ट बैंक हो ।