जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुने बताएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको तयारी थाल्न निर्देशन दिएका हुन । पार्टीले निर्देशन पछि दिने भन्दै बागमतीका ३५९ वडाका जनता परिचालन गर्न समेत निर्देशन दिए । उनले भने- ‘पार्टीको निर्देशन पछि आउछ, जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला, जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ, कसरी कुन संस्थाले अगाडी लाग्छ, आयोजना गर्छ त्यो छोडिदिनुस् । ‘
प्रधानमन्त्री ओली यिनीहरु राजावादी नभएर खाओवादी भएको बताउदै जनतालाई भ्रममा पारेर सानो स्वार्थका लागि लडिरहेको टिप्पणी समेत गरे । ओलीले राजावादीहरूको आन्दोलनलाई ‘सानो स्वार्थ’ र ‘अनावश्यक फूर्ति’ को संज्ञा दिँदै सरकार र जनताको मौनताको फाइदा उठाएको आरोप लगाए । “उनीहरू कुनै महान उद्देश्यका लागि लडेका होइनन्। हामी तयार रहनुपर्छ,” उनले भने । पार्टीले थप निर्देशन दिने भन्दै ओलीले कार्यकर्तालाई जेठ १५ को लागि तयारी अवस्थामा रहन भनेका छन् ।