प्रधानमन्त्री ओलीले जनआन्दोलनलाई लक्षित गरी दिएको अभिव्यक्ति आपत्तिजनक
काठमाडौँ । राजसंस्था फर्काउन गठन गरिएको संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि सुरु हुन लागेको जनआन्दोलनलाई लक्षित गरी दिएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति आपत्तिजनक रहेको बताएको छ ।
समितिका संयोजक नवराज सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति आपत्तिजनक रहेको बताएको हो । सुवेदीले सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाट नै द्वन्द भड्काउने खालका अभिव्यक्तिहरु आउनु आश्चर्यजनक रहेको समेत उल्लेख गरेका छन् ।
समितिको विज्ञप्ति भनिएको छ ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा जनताको चाहना अनुरूप संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्ने, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ संविधानप्रदत्त अधिकारको उपयोग गर्दै संयुक्त जनआन्दोलन समितिको आह्वानमा यही जेठ १५ गतेदेखि सुरु हुन लागेको जनआन्दोलनलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिनुभएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्ति आपत्तिजनक रहेको छ ।’
सरकार प्रमुखबाट द्वन्द भड्काउने अभिव्यक्ति आउनु आश्चर्यजनक भएको समेत बताइएको छ । ‘सर्वसाधारण जनताको रक्षा गर्ने तथा संविधानको पालना गर्ने गराउने जिम्मेवारी बोकेको सरकार प्रमुखबाट नै द्वन्द भड्काउने खालका अभिव्यक्तिहरु आउनु आश्चर्यजनक छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत रहेको छ ।’