सिंहलाई छाडिँदै, थापालाई भित्रै राख्ने तयारी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले केहीबेर प्रहरी परिसरमै थुनिदिएको छ । ‘चर्को बोलेको आरोपमा उनलाई थुनामा राखिएको प्रहरीले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठकाअनुसार थापालाई भेट्न दुईजना परिसर पुगेका थिए । तर प्रहरीले कुराकानीकै क्रममा श्रेष्ठलाई बाहिर निकालेर सिंहलाई नियन्त्रणमा राखेको थियो । दीपक सिंहले चर्को बोलेर प्रहरीमाथि नै नकारात्मक टिप्पणी गरेको हुनाले केहीबेर सोधपुछका लागि राखेका हौँ, परिसरका एसपी अपिल बोहोराले भने ।
तर थापाका बारेमा भने प्रहरीले निर्णय गर्नै बाँकी रहेको जानकारी गराएको छ । आइतबार दिउँसो काठमाडौंको नक्लाल नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पूर्व गृहमन्त्रीसमेत रहेका थापलाई ‘झ्याल्टुङच्याइँ बनाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि थापालाई ‘मापसे चेक गराएको थियो । हामीले मापसे पनि चेक गराएका थियौँ, तर उहाँले मापसे गरेको पाइएन, एक प्रहरी अधिकारीले भने ।