एमालेको ‘झोले अभियान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान एउटा स्टाटसहित ‘म झोले हो, भन्ने पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरे । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ । समाचार तयार पार्दासम्म उक्त पोस्टमा तीनहजार पाँच सय बढीले कमेन्ट गरेका छन् । अधिकांशले ओलीप्रति आक्रोश व्यक्त गरेका भने केहीले समर्थन पनि गरेका छन् ।

एमाले निकट नेपाल बुद्धिजीवी परिषदको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीले ‘झोले शब्दलाई जोड दिँदै सम्बोधन गरेका थिए । उनले कार्यक्रममा भनेका थिए, मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरुको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने, परिवर्तनको झन्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ? म एमालेको झोले हुँ । य देशका जनताको झोले हुँ । अब चित्त बुझ्यो प्रतिक्रियावादीहरुलाई ? ओलीको झोले पोस्टरपछि महासचिव शंकर पोखरेल, मन्त्रीहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङसहित अधिकांश नेताहरुले सोही पोस्टरमा आफ्नो तस्बिर राख्दै ‘झोले अभियान अघि बढाएका छन् । तर एमालेकै केही नेताहरुले भने सस्तो प्रचारवाजी भएकाले आफूहरुले नराखेको प्रतिक्रिया दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *