ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थप
काठमाण्डौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ। कम्पनीले आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको हो । अव आईपीओमा भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले जेठ १९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेकोमा जेठ १८ गते, नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकाभित्र सार्वजनिक बिदा दिएकोले निष्काशन अवधि एक दिन थप गरेको जनाएको छ।
कम्पनीले कुल जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गरेको हो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४ कित्ता, र कर्मचारीहरूका लागि ७९ हजार ४३३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकेको छ। अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको “मेरो सेयर” प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।