निर्देशन समितिले महाधिवेशन गर्ने जिम्मा लिएमात्रै कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका भ्रातृसंस्थाको महाधिवेशनबारे सहजीकरण गर्न बनाएको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ले क्यालेन्डरसहित जिम्मा लिए मात्रै भ्रातृसंस्थाको म्याद थप्ने भएको छ । भ्रातृसंस्थाका तदर्थ समितिका संयोजकको प्रतिबद्धतामा होइन, पार्टीले बनाएको निर्देशन समितिले क्यालेन्डरसहित प्रतिबद्धता जनाए मात्रै म्याद थप्ने सहमति बनेको हो । पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूबिच निर्देशन समितिले क्यालेन्डरसहित महाधिवेशन गर्ने प्रतिबद्धता जनाउने भ्रातृसंस्थालाई मात्रै महाधिवेशन गर्न दिने सहमति बनेको एक पदाधिकारीले जानकारी दिए । ‘भ्रातृसंस्थाका प्रमुखलाई पार्टीले पटक–पटक समय दियो । उनीहरूले गर्न सकेनन् । अब पार्टीले बनाएको निर्देशन समितिले क्यालेन्डरसहित प्रतिबद्धता जनाउने भ्रातृसंस्थाको मात्रै म्याद थप्ने सहमति बनेको छ,’ ती पदाधिकारीले रातोपाटीसँग भने, ‘हामीले निर्देशन समितिका साथीहरूलाई क्यालेन्डरसहित प्रतिवेदन एक साताभित्र पेस गर्न भनेका छौँ । त्यो क्यालेन्डर भरपर्दो भयो भने मात्रै म्याद थप हुन्छ । अब तदर्थ समितिको क्यालेन्डरका आधारमा होइन, निर्देशन समितिको क्यालेन्डरका आधारमा पार्टीले जिम्मेवारी लिन सक्ने अवस्था रहेका भ्रातृसंस्थाको मात्रै म्याद थप्ने सहमति पदाधिकारीहरूबिच जुटेको छ । पटक पटक महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाहरू तरुण दलको निर्देश्न समिति संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेपाल विद्यार्थी संघको निर्देशन समितिको संयोजक सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघको निर्देशन समितिको संयोजक प्रवक्ता डा। प्रकाशशरण महत, नेपाल दलित संघको निर्देशन समितिको संयोजक जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक मोहनबहादुर बस्नेत र नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशम्शेर राणा छन् । यी मध्य अन्य निदेशन समितिका संयोजकले क्यालेन्डरसहित महाधिवेशन गर्न कार्यतालिका पेश गर्न तयार छन् । तर नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा र निर्देशन समिति संयोजक किशोरसिंह राठोर तथा दलित संघका निर्देशन समितिका संयोजक सहमहामन्त्री जीवन परियार र अध्यक्ष लोकबहादुर विश्वकर्माबिच पानी बाराबारको अवस्था छ । उनीहरूले यही समितिले महाधिवेशन गर्नेगरी क्यालेन्डर पेस गर्ने पक्षमा छैनन् । तरुण दलको निर्देशन समिति संयोजक सहमहामन्त्री उपाध्यायले महाधिवेशनका लागि धेरै ठूलो प्रगति नभए पनि क्यालेन्डर बनाएर पार्टी नै लागेमा प्रगति हासिल गर्न सकिने पदाधिकारी बैठकमा बताएकी थिइन् । तर अध्यक्ष विद्वान गुरुङको गृहजिल्ला लमजुङमा जिल्ला अधिवेशन हुँदा खुकुरी हानाहान भएकाले समस्या जटिल बन्दै गएको नेताहरू बताउँछन् । महिला संघ निर्देशन समिति संयोजक प्रवक्ता डा। महतले क्यालेन्डर बनाउने तयारी गरेका छन् । तर, संघको केन्द्रीय समितिमा रहेका २० जनाले सामुहिक राजीनामा दिएकाले समाधान हुने र भरपर्दो क्यालेन्डर आउन समस्या हुने पदाधिकारीहरू बताउँछन् । बाँकी थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र किसान संघमा महाधिवेशन गराउन समस्या नभएको पनि नेताहरू बताउँछन् । महामन्त्री गगन थापाले एक,दुई दिनमा केन्द्रीय समिति बैठक आगामी १० देखि १५ दिनको बिचमा बोलाउने टुंगो लाग्ने र त्यही बैठकबाट भ्रातृसंस्थाका तदर्थ समितिबारे के गर्ने भन्ने टुंगो लाग्ने बताए । ‘हामीले केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने एक दुई दिनमा टुंगो लगाउँछौँ,’ थापाले रातोपाटीसँग भने, ‘१० देखि १५ दिनभित्र बैठक आह्वान हुन्छ । त्यही बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाबारे के गर्ने भन्ने निर्णय लिन्छ । सोमबार सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा भ्रातृसंस्थाबारे के गर्ने भन्ने विषयमा छलफल भएको थियो । त्यही बैठकमा निर्देशन समितिले क्यालेन्डर बनाउने र पार्टीले जिम्मा लिने अवस्था रहेका भ्रातृसंस्थाको मात्रै म्याद थप्ने विषयमा नेताहरूबिच सहमति जुटेको हो । बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले केही भ्रातृसंस्थाका तदर्थ समितिलाई अझै पूरै कार्यकाल जति समय दिँदा पनि महाधिवेशन गर्न सक्ने अवस्था नदेखिएकाले भंग गरेर नयाँ बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर संस्थापन पक्षीय नेताहरू भने अहिलेकै समितिलाई अन्तिम पटकको समय दिएर महाधिवेशन गर्ने अवसर दिनु पर्ने बताएका थिए । त्यसपछि मध्यमार्गी कुरामा सहमति जुटेको हो । गत फागुन एक गने बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सञ्चारकर्मीहरूसँग पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिएको थियो । त्यो समयमा पनि महाधिवेशन गर्न तदर्थ समितिहरू असफल भएपछि कांग्रेसले अहिलेसम्म न भ्याद थपेको छ न तदर्थ समिति भंग गरेको छ ।