घरजग्गा कारोबारमा कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं । नेपाल सरकारले मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ को व्यवस्था अनुसार घरजग्गा खरिद–बिक्री व्यवसायीहरुलाई नियमन गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ निर्देशन जारी गरेको छ। ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न सरकारले घरजग्गा कारोबारमा थप कडाइ गरेको हो । विभागले २०८२ जेठ १३ मा स्वीकृत गरी जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन, २०८२’ अनुसार अब घरजग्गा कारोबारमा थप कडाइ गरिने भएको हो। निर्देशनअनुसार अबदेखि दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्मको घरजग्गा कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। यस्तै, पचास लाख रुपैयाँभन्दा बढीको कारोबार सोझै विद्युतीय प्रणाली वा गुड फर पेमेन्ट चेकमार्फत मात्र गर्न पाइनेछ। व्यवसायिक सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) समेत लिखतसँगै अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। दश लाख रुपैयाँभन्दा बढीको कारोबार भएको खण्डमा राजस्व दाखिला पनि बैंकमार्फत गर्नुपर्नेछ। खरिदकर्ता तर्फबाट रजिष्ट्रेशन दस्तुर र बिक्रीकर्ता तर्फबाट लाभकर राजस्व खातामा जम्मा गर्नुपर्ने स्पष्ट गरिएको छ। बैनाबट्टाको प्रक्रिया पनि थप व्यवस्थित पारिएको छ। दश लाखभन्दा बढीको बैनाबट्टा पेश गर्दा सो रकम बैंक वा विद्युतीय प्रणालीमार्फत कारोबार भएको विवरण बैनाबट्टासँगै पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। तीन करोड रुपैयाँ वा सोभन्दा बढीको कारोबार भएको खण्डमा त्यसको विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ। यस्तै, कुनै पनि कारोबार शंकास्पद देखिएमा त्यसको जानकारी पनि सो इकाइमा पठाउनुपर्ने अनिवार्यता राखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *