नवराज सुवेदी नेतृत्वको राजावादी बैठकमा हो-हल्ला

काठमाण्डौं । नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको बैठक हो-हल्लापछि कुनै निर्णयमा नपुगेर स्थगित भएको छ। समितिले अहिलेसम्मको आन्दोलन समीक्षा गर्दै आन्दोलनका नयाँ कार्यक्रम ल्याउन बैठक राखेका थिए। यो बैठकलाई समीक्षा बैठक भनिएको थियो। तर बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आएनन्। त्यसपछि हो-हल्ला भयो। संयोजक सुवेदीले छिट्टै आन्दोलनका कार्यक्रम ल्याउने प्रतिबद्धतासहित आजको कार्यक्रम सकिएको बताए। सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्दै आएको थियो।

आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाललगायतले समर्थन जनाएका थिए। आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणाको तयारी थियो। त्यसका लागि समितिले सुझावसमेत मागेको थियो। तर बैठकमा हो(हल्ला भयो। बैठकमा राप्रपा अध्यक्ष कमल थापाले बोल्न खोजेका थिए। आफ्नो कुरा नसुन्ने र हो-हल्ला गरिराख्ने हो भने आफू नबोल्ने थापाले बताएका थिए। आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित थिएनन्, उनी संसद गएका थिए। बैठकमा उपस्थित कतिपयले राप्रपा अध्यक्ष लिङ्देन अनुपस्थित रहेकोबारे चासो राखेका थिए भने राप्रपालाई लक्ष्य गर्दै अहिलेकै संसद चाहिने भए आन्दोलनको अर्थ नहुने बताएका थिए। बैठकमा लिङ्देनको कार्यव्यस्तताबारे भने जानकारी गराइएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *