यूएसएआईडीका ५ सय बाइक तथा ११८ गाडी चोभारमा
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालस्थित कार्यालय बन्द भएपछि त्यसअन्तर्गतका ५१८ सवारीसाधन काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा राखिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ती सवारीमध्ये ५०० वटा मोटरसाइकल र ११८ वटा चारपांग्रे गाडी छन् । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले डेढ महिनाअघि पार्किङ शुल्कको आधारमा ती सवारीसाधन सुक्खा बन्दरगाहमा राखिएको जानकारी दिए । ‘दैनिक प्रति गाडी १०० रुपैयाँ र मोटरसाइकलको आकारअनुसार शुल्क लिइरहेका छौं ।
गजुरेलले ती सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको समेत बताए । यूएसएआईडीको कार्यालय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती गर्ने निर्णयसँगै सन् २०२५ को जनवरी २० पछि बन्द गरिएको थियो । कार्यालय बन्द भएपछि त्यसका सवारीसाधनलाई चोभारस्थित सुक्खा बन्दरगाहमा सारिएको हो । व्यवसायीहरूले बजेटमा कर बढ्ने हल्लाका बीचमा ल्याएका आवश्यकभन्दा बढी गाडी हाल चोभार सुक्खा बन्दरगाहमै थन्किएका छन् । बन्दरगाहमै १ हजार २ सय सवारीसाधन रहेको जनाइएको छ ।