ओली मेरो राजनीतिक क्यारियर समाप्त गर्न चाहन्छन्- माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले कुनै अनुचित काम नगरेको प्रतिक्रिया दिएका छन् ।

रौतहटमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफुले अनुचित काम नगरेको बताउदै पतञ्जली जस्तो संस्थामा यस्तो होला भन्ने आफुले कल्पना समेत नगरेको बताए । उनले भने- ‘मैले अनुचित काम गरेको छैन । के भएको छ त्यस बारेमा जानकारी छैन । मैले पनि कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ । पतञ्जली जस्तो संस्थामा जग्गा प्रकरणमा यस्तो होला भन्ने आफुले कल्पना समेत गरेको थिइन् । अहिले म कसैलाई आरोप लगाउन गर्न चाहन्न । म आफै कुनै खराब नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति आदेश दिने काम मबाट भएको छैन ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो क्यारियर समाप्त गर्ने नियत नै राखेको बताउदै भने- उहाँ मेरो विरुद्ध शुरुदेखि लाग्नु भएकै हो । मेरो राजनीति क्यारियरलाई समाप्त पार्ने नियत नै हो । पहिला पनि उहाँले यस्तो किसिमको कोसिस पटक पटक गर्नु भएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *