यो अराजकताले कहाँ लैजान्छ ?
अस्थिरता र अराजकताको अटुट शृङ्खलाले नेपाल उठ्नै नसक्ने गरी थला परेको छ । शिक्षकहरूको आन्दोलन सकिएको महिना दिन बितेको छैन फेरि सुरु भयो यातायात व्यवसायीको हडताल संसद्को बैठक भत्ता खाएर गरिने आन्दोलनले त नेपाल र नेपालीको शिर दुनियाँ सामु झुकेकै थियो । यस पटक पनि त्यस्तै भयो । हिंसा र आतङ्कमा विश्वास राख्ने माओवादी र यावत विकृतिको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनले सांसदलाई फेरि बन्धक बनाउने दुष्कर्म सुरु गरेका छन् । शान्तिप्रिय नेपाली जनता भाइचारा र सद्भावमा विश्वास राख्छन् ।
तर, सधैँ हिंसा आतङ्क, तोडफोड र अराजकता तिनको भागमा परेको छ । कहिले एमालेले ५८ दिन सांसदलाई बन्धक बनाउँछ । कहिले कथित वामपन्थीको सिको गर्दै काँग्रेसले संसद् अवरुद्ध पार्छ । अपराधकर्मीको पर्यायवाची बनेको रास्वपा नामको विदेश पलायन भएकाहरूको अखडाले त नेपाललाई समाप्तै पार्ने गरी गतिविधि गरिरहन्न स्वाभाविक पनि हो । अहिले हामी नेपाली आफ्नो मुलुक, मातृभूमि परम्परा, संस्कार संस्कृतिलाई भन्दा विदेशीलाई विश्वास गर्छौँ । अमेरिका, युरोप जापान, अस्ट्रेलिया हाम्रा परमधाम भएका छन् । पशुपतिनाथ, स्वयम्भूनाथ, जनकपुर, मुक्तिनाथ र स्वर्गद्वारी जस्ता तीर्थस्थल त तृण बरावर भएका छन् । यस्तो अवस्थामा विदेशी बनेका नेपालीप्रतिको सम्मान र विश्वासलाई अन्यथा लिन पनि मिल्दैन । सयौँ अपराध गरेर पनि लाज नमानी मुख देखाएर हिँड्ने माओवादी र रास्वपाका नेताहरू प्रतिको आकर्षणका कारण चाहिँ आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने नेपाली काँग्रेस र एमाले नेताहरूको व्यवहार र चरित्र कै कारणले गर्दा हो । यदि नेपाली काँग्रेस जनउत्तरदायी, जिम्मेवार र इमानदार भइदिएको भए आजको यो अवस्था आउने थिएन । २०४८ र ०५६ मा सरकार चलाउन सहज ढङ्गले बहुमत पुग्ने गरी जनदेश पाएको नेपाली काँग्रेसले दुवै पटक जनतालाई विश्वासघात ग¥यो । ०५१ को मध्यावधि र ०५९ को संसद् विघटन र राजालाई अधिकार सुम्पने काम नेकाकै सरकारले नेपाली जनतालाई दिएका उपहार थिए । बारम्बारको आन्दोलन, गुमेको अधिकार प्राप्तिका लागि सङ्घर्ष नेपाली काँग्रेस, एमाले र माओवादीकै कारण गर्नु परेको हो । हामी निर्विकल्प हौँ, हामीलाई कसले के गर्छ भन्ने धारणा ती दल र तिनका नेतामा छ । जनताले एक पटक माफ दिए, दुई पटक माफ दिए भनेर सधैँ क्षमा दिइरहन्छ भन्ने ठान्नु तिनको भुल हो । जनताकै काम गर्ने गरी सरकारमा गएका, देशको सार्वभौमसत्ता, क्षत्रिय अखण्डता, भाषा, धर्म, संस्कृतिको रक्षा गर्नुपर्ने हाम्रा नेता र शासकको चर्तिकला विदेशीको हित गर्ने, आफ्नो र आफन्तजनको स्वार्थमा लिप्त भएर लागेका छन् ।
अहिले देखिएको असुरक्षा, अराजकता, अन्योल अरू कुनै कारणले होइन हाम्रै नेता, पार्टी र हामीले नै विश्वास गरेका जनप्रतिनिधिका कारणले गर्दा हो । हामी जनता पनि पटक पटक धोखामा परेर पनि नचेत मा यो अवस्था बेहोर्न बाध्य भएका हौँ भनेर हेक्का राख्दैनौँ । हामीले प्रतिनिधि छान्ने, व्यवस्था छान्ने वेलामा विचार पु¥याएको भए यसरी बारम्बार ठगिनु पर्ने थिएन । कहिले जनयुद्धको नाममा जघन्य हत्या हिंसा, कहिले जनवादको नाममा मनपरितन्त्र र कहिले समावेशिता, सङ्घीयताको नाममा अराजकता अहिले नेपालको विशेषता बनेको छ । नेपालको अस्तित्व रक्षा गर्नुपर्ने, देशलाई संवृद्धिको शिखरमा लैजानुपर्ने युवाहरू चुपचाप बिदेसिनु पर्ने बाध्यता किन आयो ?, अब यो अवस्था आउनुको कारण पत्ता लगाउनुपर्ने बेला भएको छ । हामीले जसले गुलिया नारा दिन्छ, जसले सजिलै जनतालाई ढाँट्न सक्छ, त्यसैलाई विश्वास गर्ने बानी छाड्नु प¥यो । सत्य, न्याय, स्वतन्त्रता र विकासको पक्षमा आफूलाई उभ्याउनु प¥यो । जनता इमानदार भएर मात्र देश बन्दैन, सचेत र होसियार पनि बन्नुपर्छ । यो कुरा हाम्रो युवाले बुझ्न जरुरी छ । जनता जाकरूक र चेतनशील भएको भए आजको विकृति बेहोर्नु पर्ने थिएन । स्कुल बन्द गरेर पार्टी राजनीतिमा लाग्ने शिक्षक अहिले हल्लालमा उत्रिन्छ हामी तिनकै पक्षमा ताली पिटिन्छौँ । प्राइभेट स्कुल हरूको मनोमानी सहिरहन्छौँ । कमिशनखोरबाट ठगिइरहन्छौँ, सार्वजनिक यातायातका का क्षेत्रमा त झन् यति विकृति छ कि त्यसलाई सजिलै हटाउने कल्पना पनि नगरे हुन्छ । तर फेरि तिनैले हडताल गर्छन् । हामी नबुझी तिनका प्रति सहानुभूति जनाउँछौँ । केही काल अघिसम्म जनतालाई दुःख दिने, सडकमा आन्दोलन गर्ने ठेक्का राजनीतिक दल र राजनीतिक स्वार्थसँग गाँसिएका समूहको हुन्थ्यो, अब व्यवसायी, कर्मचारी, ठेकेदार, यातायात व्यवसायीहरू लाई त्यो स्थान लिएका छन् । सरकार त जसले जे भन्यो त्यही हुन्छ भनेर स्वीकार गर्ने तर तदनुरूप काम चाहिँ नगर्नेहरूको नाम बन्न पुगेको छ । एक समय थियो सडकमा गाडीले एउटा कुखुरा किच्यो भने पनि शहीद घोषणा गरेर दश लाख दिनुपथ्र्यो । त्यो समय कानुन, ऐन नियम, संविधान सबै निष्किृय थिए । भीडको चल्थ्यो र तिनले जे भन्थे सत्ताधारीहरू त्यसैमा हाँ मा हाँ मिलाउँथे । तर त्यसरी त कुनै पनि देशको शासन सत्ता सधैँ सञ्चालन हुन सक्दैन ।
अहिले फेरि एक पटक चरम जनसन्तोषले विद्रोहको रूप लिन खोज्दै छ । त्यसको परिणाम अराजकता, उछंखलता र कानुन हातमा लिएर मनपरी गर्ने उदाण्ड तत्त्वको मनोमानी हो । यसलाई नियन्त्रण गरेर कानुन व्यवस्था कायम नगरे, शान्ति सुरक्षा, सुशासन, ऐनकानूनको कार्यान्वयन त मरुभूमिमा पानी खोज्ने मृगको हालतमा पुग्ने निश्चित छ । सत्ता स्वार्थको वशीभूत भएर आज यो दल वा त्यो दलले सरकार ढाल्न वा टिकाउन जे गर्छ, भोलि त्यसको परिणाम उसले पनि बेहोर्नु पर्छ । जनताले त आफ्नै देश, आफ्नै पार्टी, आफ्नै नेतालाई पनि छाडेर विदेश पलायन हुनुपर्ने अवस्था आउनु नै दुर्भाग्य हो । त्यो अवस्थालाई टाल्न अब सबै लाग्नुपर्छ, ढिलो गर्नु हुँदैन ।