अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै छन् ।

नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालय स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नरहेको बताएका छन् ।

१०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको पत्र आए पनि संख्या यकिन भइनसकेको जनाउँदै प्रवक्ता न्यौपानेले भने, ‘काठमाडौं अवतरण भइसकेपछि मात्र संख्या यकिन हुनेछ ।’ अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अध्यागमनको अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *