क्रान्तिकारी नेता मोहन वैद्यको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था गम्भीर बनेपछि हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी छ।
दम र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त वैद्यलाई जेठ १७ गते अस्पताल भर्ना गरिएको हो। ७९ वर्षीय वैद्य विगत केही वर्षदेखि श्वासप्रश्वासको दीर्घरोगले पीडित थिए । पार्टीका एक नेताका अनुसार वैशाख अन्तिम सातादेखि समस्या बढ्दै गएपछि उनलाई तत्काल अस्पताल भर्ना गर्नुपरेको थियो। हालसम्म आईसीयूबाट जनरल वार्डमा सार्न सकिने अवस्था नभएको चिकित्सकहरूले बताएका छन्।
पार्टी नेताहरूले हिजो अस्पताल पुगेर वैद्यको अवस्था बुझेका थिए। एक नेताले भने, “उहाँ डेढ हप्तादेखि आईसीयूमै हुनुहुन्छ। डाक्टरहरूका अनुसार दमको समस्या सक्रिय टीबीको खतरनाक चरणमा पुगेकाले सघन निगरानीमै राख्नु परेको हो।”गत मंसिरमा सम्पन्न महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका वैद्य पुस महिनामा पनि एकपटक गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका थिए। त्यतिबेलाको उपचारपछि केही समय स्वस्थ देखिए पनि हाल पुनः समस्या गम्भीर भएको जनाइएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु मानिने वैद्य शास्त्रीय मार्क्सवादी विचारमा दृढ रहेका कारण जडसूत्रवादीको आलोचना खेप्ने गरेका छन्। तर, उनको अनुशासन, सादगी, र आदर्शका कारण उनी वाम राजनीति भित्र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन् ।