नेपालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार गरेको छ : अध्यक्ष ढकाल

काठमाण्डौं । सोमबार स्विट्जरल्यान्डको जिनेभामा आयोजित ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार गरेको बताएका छन्। उनले नेपालमा भएका नीतिगत र कानुनी सुधार तथा लगानीका अवसरबारे विश्व समुदायलाई जानकारी गराए। सम्मेलनमा १८७ मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी थिए। अध्यक्ष ढकालले नेपालको भौगोलिक विविधता, भौतिक अवस्थिति र हालैका नीतिगत सुधारले लगानीका लागि प्रशस्त सम्भावना सिर्जना गरेको उल्लेख गरे। उनले महासंघको पहलमा करिब ३० वटा लगानीसम्बद्ध कानुन परिमार्जन भएको, द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको र नेपालमा अवसर खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, तर भारत, चीनलगायत मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायम रहने भएकाले लगानीको सम्भावना थप बलियो छ । अध्यक्ष ढकालले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको बताए। उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे। साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमाल पग्लिँदै गएको र हिमाल संरक्षणमा नेपालको भूमिकाप्रति विश्व समुदायको ध्यानाकर्षण गराए।

उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थन आवश्यक रहेकोमा जोड दिए। औपचारिक अर्थतन्त्र विस्तारमा नेपालको प्रयासको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रशंसा गरेकोमा ढकालले खुशी व्यक्त गरे। आइएलओले नेपालसहित जिम्बाव्वे, कोट डे भाँ, उरुग्वे र नामिबियाको औपचारिकीकरण प्रयासलाई प्रतिवेदनमा समेटेको छ। नेपालमा महासंघ, ट्रेड युनियन र सरकारले संयुक्त समिति बनाएर औपचारिक अर्थतन्त्र विस्तारमा काम गरिरहेको उनले बताए। अध्यक्ष ढकालले महासंघले सम्मानजनक रोजगारी सिर्जना र आर्थिक वृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई सहयोग गर्न एफडिआई सहायता डेस्क स्थापना गरेको जानकारी दिए। साथै, कामदारहरूसँग द्विपक्षीय सहकार्य सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर भएको बताए। उनले नेपाल र विश्वको समृद्ध आर्थिक भविष्यका लागि विश्वव्यापी साझेदारहरूसँग सहकार्य गर्न महासंघ तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *