पौडी खेल्ने क्रममा बेपत्ता पुरुषको शव बेगनास तालमा
काठमाडौँ । पौडी खेल्ने क्रममा कास्कीको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराईबाट शव निकालेको हो । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ साढे ७ बजे बेपत्ता भएका थिए । उनी कास्कीको पोखरा घुम्न आई लेकवेभ होटलमा बस्दै आएको थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।