चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार
काठमाडौँ । सोलुखुम्बुको गोक्यो ताल क्षेत्रबाट एक चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार गरिएको छ।
पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो तालस्थित एक होटलबाट ती नागरिकको उद्धार गरेको हो। उनी चिनियाँ नागरिक छेई हुवाङ रहेको खुलेको छ, जो गोक्योको ‘थांका इन’ होटलमा बस्दै आएका थिए। उनले आफ्नो जन्मदिनको दिन आत्महत्या गर्ने योजना बनाएको भन्दै चिनियाँ सामाजिक सञ्जालमा तालमा डुबेर मर्न खोजेको भिडियो पोस्ट गरेका थिए । सो जानकारी प्राप्त भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल प्रहरीलाई खबर गरेको थियो।
खबर पाएपछि सोमबार अपराह्न करिब ५ बजेतिर पर्यटक प्रहरी टोलीसँग समन्वय गरी मंगलबार बिहान ५:३० बजे ‘अल्टिच्युट’ हेलिकप्टरमार्फत दुई जना प्रहरी अधिकृत गोक्यो तालतर्फ पठाइयो। स्थानीय होटल सञ्चालकले छेई हुवाङलाई सम्झाएर राखेका थिए। प्रहरी टोली पुगेर करिब आधा घण्टा संवाद गरेपछि उनी काठमाडौं आउन तयार भएका थिए।