नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरू प्रस्तुत गरे । सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सम्मेलनलाई सम्बोधन गर्दै उनले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए । महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै उन नेपालमा अवसर खोज्न सहभागीहरूमा आग्रह गरे । ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ । ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ । उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरू रहेको बताए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । उनले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *