‘समाजवादी क्रान्ति नयाँ चरणमा प्रवेश गर्दैछ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको जानकारी गराए । उनले भने, “विगतका कमजोरी सच्याएर समाजवादी क्रान्तिलाई नयाँ चरणमा पुर्याउने हाम्रो अभियानमा म सबैलाई जोडिन आग्रह गर्छु।” कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहितका नेताहरूले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अध्यक्ष प्रचण्डले उनीहरूलाई स्वागत गर्दै यस प्रकारको समायोजनले पार्टीलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै, पार्टीमा आउने नयाँ सदस्यहरूलाई जिम्मेवारीसहितको स्थान दिइने पनि स्पष्ट पारे।