अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान शुरु

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनको मतदान शुरु भएको छ ।

मतदान विद्युतीय मेसिनबाट गरिदैछ । निर्वाचन कमिटीले मतदानका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरेको जानकारी दिएको छ । यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको थियो । नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।

त्यस्तै एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । त्यस्तै एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार रहेका छन् । यस निर्वाचनले अनेरास्ववियुको ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।

अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *