बेनीमा विद्यार्थीलाई कपाल काट्ने तालिम

म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई कपाल काट्ने व्यावसायिक सीप सिकाउने तालिम सुरु गरेको छ।

बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा कक्षा ८, ९ र ११ मा अध्ययनरत २५ जना विद्यार्थी सहभागी छन्। विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठका अनुसार विद्यार्थीको रुचि र मागका आधारमा १५ दिने तालिम सञ्चालन गरिएको हो । तालिम जेठ २६ गतेदेखि सुरु भई असार १० गतेसम्म सञ्चालन हुनेछ। तालिम बेनीका पेशेवर हेयरड्रेसर अभिषेक श्रेष्ठद्वारा दिइँदैछ। विद्यालयको नियमित पठनपाठनपछिको समयलाई उपयोग गर्दै दिउँसो ४ बजेबाट दुई घण्टा तालिम सञ्चालन भइरहेको छ।

तालिममा सहभागी कक्षा ११ का विद्यार्थी सुयोग रेग्मीले सिकेको सीपले घरमा खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने बताए। प्रधानाध्यापक श्रेष्ठले बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टौँ पालो कुरिनुपर्ने समस्यालाई समेत ध्यानमा राखी तालिम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार यदि विद्यार्थीहरूले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले भवनको सटर उपलब्ध गराउनेछ।

“गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो,” श्रेष्ठले भने, “विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङ सेवाका लागि आफ्नै भवनमा पसल खोल्ने योजना बनाएको छ।” नगर प्रमुख सुरत केसीका अनुसार कार्यक्रमको उद्देश्य अध्ययनसँगै सीप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्नु हो।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका १६ वटा सामुदायिक विद्यालयलाई “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रमका लागि प्रतिविद्यालय १ लाखका दरले जम्मा १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विद्यार्थीहरूको समय अनुकूल मिलाउँदै बिहान–बेलुका तालिम सञ्चालन गरिएको छ। नगरपालिकाको अपेक्षा अनुसार करिब ५०० विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अनुमान गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *