एलएस अटोका दुई नयाँ ईभी ‘नाइमा मोबिलिटी एक्स्पो’ मा सार्वजनिक हुदैं
काठमाडौं । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा दुई नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । नेक्सन भेन्चरले ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुई नयाँ मोडेल ल्याउने भएको हो । अगामी २१ देखि २५ साउनसम्म काठमाडौं भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ । कम्पनीले नाडा अटो शो २०२५ मा पनि यी गाडी प्रदर्शन गर्ने योजना बनाएको छ । एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको इलेक्ट्रिक कार हो । यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ । यो कारमा २६५० एमएम लामो ह्विलबेस छ । १७ इन्चको एलोय ह्विल रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ । एलईभी ०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने छ । यसको अधिकतम टर्क १८० न्युटन मिटर छ । यो कारमा सेग्मेन्ट फर्स्ट सबैभन्दा ठूलो साइजको ब्याट्रीप्याक छ । एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ । नेक्सन भेन्चरले सार्वजनिक गर्न लागेको अर्को मोडेल एलईभी एक्स हो । क्रसओभर एसयूभी डिजाइनको यो इभी यसअघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्विल ड्राइभ भर्सन हो । एलईभी एक्समा मोटर पावरका साथै केही फिचर थप भएर आउने छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहने छ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएकोे छ । साथै, यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजका लागि फ्रङ्स समेत थपिएको छ । नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ ।